नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन फिर्ताको जानकारी लिखित रूपमा गराउन लागिएको सेतोपाटीलाई बताए।
माओवादी केन्द्रले सोमबार स्थायी समितिको बैठक डाकेको छ। मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकअघि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिन लागेको हो
‘यो सरकारलाई समर्थन दिइराख्ने कुरा भएन। हामीले समर्थन लिन फिर्ता पर्दैन भनेको हो। सबैले लिनुपर्छ भनेपछि अब लिन्छौं’, श्रेष्ठले सेतोपाटीसँग भने, ‘हाम्रो यो सरकारलाई कहिल्यै समर्थन नै छैन। यो सरकारलाई हाम्रो समर्थन नरहेको लेखेर दिन्छौं।’
उनले सोमबार बस्ने स्थायी समिति बैठकबाट समर्थन फिर्ताको निर्णय हुन सक्ने बताए।
‘भोलि स्थायी समिति बैठक बस्दैछौं, यो पनि एजेन्डा हो’, श्रेष्ठले भने, ‘अब निर्णय हुन्छ।’
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्नेछ। प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीबाट समर्थन प्राप्त गर्ने प्रयास गरिरहेका छन्। तर जनता समाजवादी पार्टीभित्र सरकारलाई समर्थन गर्ने विषयमा दुई धार छन्। महन्थ ठाकुर र राजेन्द्र महतो सरकारलाई समर्थन दिने पक्षमा देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव केपी ओलीलाई समर्थन नदिने पक्षमा छन्।
नेकपा एमालेका सांसदले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेपछि केन्द्रमा समेत फ्लोर क्रस हुने आशंका प्रधानमन्त्री ओली पक्षले गरिरहेको छ। एमालेका सांसदलाई ओली पक्षका नेता छुट्टाछुट्टै भेटेर छलफल समेत गरिरहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई मिलाएर ओलीलाई हटाउन गृहकार्य गर्दै आएका छन्।
उनले कांग्रेसलाई सरकारको लिन आग्रह गरेका छन्। तर कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णय लिन सकेका छैनन्।
source : Setopati